२. मिठो स्वप्न भेट

 

कहीँ कतै स्वप्नमा भेट भएछ भने

एक छिन मेरो सामुन्ने शान्त उभिदिनु

म एकटक हेरी रहनेछु सुन्दर ती नयनहरु

तिमी आफ्ना सबै पिडाहरु भावमा निकाली दिनु।

 

नडराउनु भेट हाम्राे स्वप्नमा हो

निर्दयी संसार हुने छैन विपनामा जस्तो

खुलेर राखौँ हाम्रा कथा र व्यथाहरु

कहिले सुने जस्तो कहिले सुनाए जस्तो।

 

रातको एकान्तमा तिता मिठा ती यादहरु

नभनिएका पलहरु भन्दै हामी बसौंला

जति हामी हामीमा परिचित थियाैं

अझ बढी एक अर्कालाई बुझ्ने प्रयास गरौंला।

 

सही गलत को किन पो छुट्याउने

जे चोखो र सत्य हुन्छ त्यसमा प्रमाण किन र

हर मिलन प्रेम होइन आत्मा छन् यहाँ साक्षी

यो स्वप्नमा अब ईन्साफ र न्यायालय नै किन र।

 

यो रात अनि निदाई रहेको संसार

दिनभरको थकानमा निदाई रहेका हामी पनि

दिनको उज्यालोमा हराएका सम्बन्धहरु

मिठो स्वप्न भेटमा खुल्दै गरेका हामी पनि।

 

मिठो स्वप्न भेटमा खुल्दै गरेका हामी पनि।

 

२०८२