३५. सपनाको मनोरम यात्रा
विपना भन्दा सपना मीठो लाग्छ
बिम्झिन भन्दा निदाउन मन लाग्छ।
र त्यसैले,
सुन्दर हिमालहरूले मलाई नियालिरहे झैँ लाग्छ
अनि शितल हावाले पूर्ण स्पर्श गरे झैँ लाग्छ।
झरनाको पानीले मलाई भिजाई रहन्छ
खोलाको कल कल आवाज कानमा गुन्जि रहन्छ।
चकमन्न जङ्गलको यात्रामा म हराउँछु
लालीगुराँस अनेक फूल र फलमा रमाउँछु।
चराहरूले मिठो गीत गुन गुनाएको सुन्छु
गाउँ पाखा देउराली भञ्ज्याङ नाचेको देख्छु।
भाषा संस्कृति भेषभुषा संस्कार भेटिन्छन्
इतिहास सभ्यता र मानवता बोल्दछन्।
जीवनको हरेक रङ्गसँग भेट भइरहन्छ
हरेक सपनाले आफ्नो अर्थ खोजी रहन्छ।
सांसारिक व्यस्तताको यो गोलचक्करमा घुमिरहेछ
मिठो सपनामा प्रकृतिको मनोरम यात्रा चलिरहेछ।
२०८२