४०. अस्तित्वको परिभाषा
मेरो अस्तित्व
प्रेम, मिलन र प्रकृतिको नियम थियो
अनि तिम्रो सबैको पनि मेरो जस्तै।
मेरो हुर्काइ
परिवार, समाज र समय साक्षी थियो
म तिम्रो अनि तिमी मेरो भए जस्तै।
मेरो जीवन
कर्म, भाग्य र भोगाईको कथा थियो
कतै मैले कतै तिमीले लेखे कोरे जस्तै।
मेरो विचार
स्वतन्त्र, खुल्ला र फराकिलो मैदान आकाश थियो
म, तिमी, हामी सबै अट्ने फूलबारी जस्तै।
मेरो यात्रा
दूर, स्पष्ट र छर्लङ्ग गन्तव्य एक थियो
म सँगैको यात्री तिमी भए जस्तै।
मेरो मरण
अमर, सम्मान र वीरको बलिदान थियो
तिमी र उनले पुस्तौं पुस्ता सम्झे जस्तै।
२०८२