२९. मैले पढेका किताबहरू

 

म किताब पढ्छु,

असंख्य पाना पल्टाएको छु,

थुप्रै कथा, जीवनका अध्याय पढेको छु,

थुप्रै प्रेम, वियोग, सम्बन्धका रंगहरू अनुभूत गरेको छु,

संघर्ष र सफलताका कथा आत्मसात् गरेको छु।

 

किताबका पानामा,

सत्यका सुगन्ध भेटेको छु,

तथ्यका मूल र विचारका धार पाएको छु,

सिद्धान्तका गहिराइमा डुबेको छु,

कहिलेकाहीँ भ्रम, स्वार्थ र लोभका छाया पनि देखेको छु।

 

शब्दहरूको वनमा,

जीवनको यथार्थ फुलिरहेको देखेको छु,

समाजको ऐना प्रतिबिम्बित भएको पाएको छु,

असंख्य पात्र र घटनाहरूको रङ्गमञ्चमा डुबेको छु,

भाष्यले जन्माएका संसारहरूमा यात्रा गरेको छु।

 

हरेक विराममा,

विश्वका भूगोल घुमेको छु,

इतिहासको नाडी छोएको छु,

साहित्यका सपनाहरूमा बाँचेको छु,

विज्ञानका चमत्कारहरूमा अचम्मित भएको छु।

 

यी किताबका पानाहरूले,

मभित्र सोच्ने दृष्टि जगाओस्,

मानवभित्र प्रेम र एकताको बीज रोपियोस्,

कर्म र इमान्दारीको मूल सिँचाइ होस्,

विश्वभर शान्ति र खुशीको फूल फुलोस्।

 

२०८२