२८. म जीवन जिउँदै छु

 

मलाई विछ्यौनामा, प्रियसँग अंगालिन मन छ

छाला चाउरीएका कपाल फुलेका, बा-आमासँग बस्न मन छ

 

निश्चल हृदयका धनी, साना केटाकेटीसँग खेल्न मन छ

चिया पसलमा बात मार्दै, साथीभाईसँग बरालिन मन छ

 

आफन्त भेटघाटमा, सन्चो बिसन्चो भन्न मन छ

जन्मेको माटोमा, पसिनाका थोपा चुहाउन मन छ

 

मन भित्रका सपनालाई, विपनामा बदल्ने मन छ

गुरु वर्गसँग, अझै धेरै कुरा सिक्न मन छ

 

खै!

पढाईमा कमजोर भएर हो कि, शिक्षा नीति असान्दर्भिक भएर हो

सीप नभएर हो कि, शैक्षिक विधि समय सुहाउँदो नभएर हो

 

अयोग्य भएर हो कि, राज्यले रोजगारी दिन नसकेर हो

विवेकी नभएर हो कि, असल नेता नपाएर हो

 

मौलिकता भुलेर हो कि, आयातित नै सत्य लागेर हो

 

हो,

आज म समुन्द्र पारी, जन्मिएको ठाँउबाट टाढा छु

परिवार साथीभाई ईष्टमित्र, भन्दा टाढा छु

 

आँशुले मनको तिर्खा बुझाएको छु

सामाजिक सञ्जालका तस्वीरहरुमा रमाएको छु

 

एक्लोपन वाध्यता जिम्मेवारीमा विद्यावारिधि गर्दै छु

 

तैपनि

हरेक क्षण मृत्युलाई जित्न पाउँदा म जीवन जिउँदै छु।