३८. जन्मदिनको शुभकामना तिमीलाई

 

जन्मदिनको शुभकामना तिमीलाई

र धन्यवाद,

जन्मदिने पूज्य बा–आमालाई,

हुर्काउने पौरखी हातहरूलाई,

ज्ञानका मुहान खोलिदिने गुरुहरूलाई,

कर्मशील बनाउँदै लगेका जिम्मेवारीहरूलाई।

 

जन्मदिनको शुभकामना तिमीलाई

र आभार,

जीवनका सुनौलामय अध्याय कोर्ने साथहरूलाई,

सुख–दुःखका साक्षी बनेका ती क्षणहरूलाई,

लड्दै–उठ्दै अघि बढेका यात्राहरूलाई,

हाँसो र रोदन साटिएका अमूल्य पलहरूलाई।

 

जन्मदिनको शुभकामना तिमीलाई

र कामना,

स्वस्थ, सबल, दिर्घायु र खुसी जीवनको,

जीवनका प्रत्येक संघर्षमा विजयको,

शान्त, सुन्दर र मानवीय कदमहरूको,

सफल कर्म–यात्रामा उभिने पात्रताको।

 

जन्मदिनको शुभकामना तिमीलाई

फेरि पनि,

मैले बटुलेर ल्याएका हृदयका शब्दहरूको,

मैले मानेका इष्टदेवका प्रत्येक प्रार्थनाको,

हाम्रा विश्वास, साथ र सम्बन्धहरूको,

अबको सुनौलो यात्रालाई साथ दिने पाइलाहरुको।

 

२०८२