७. वर्तमान

 

जुरूक्क उठी हिँड्यो साथी जागिर खानलाई

महिना मरे तलब ल्याउँछ घर खर्च टार्नलाई

खर्चेर घण्टौं बेचेर शिप सबैलाई रिजाउँछ

थाकेर साँझ घरमा फर्की लुपुक्क निदाउँछ

 

बजार जान्छ थोर बहुत अन्न तरकारी ल्याउँदछ

घर आई गोजी छामेर भन्छ महँगीले रित्याउँछ

दुई गाँस काटी रहर मारि दुई पैसा बचाउँछ

कोही बिमार परे ऋण काटी उपचार गराउँछ

 

महँगो छ शिक्षा काँहा लागि पढाऊन सन्तान तिनलाई

सकेको गर्छ एकसरो लगाई राम्रो स्कूल हाल्नलाई

बुझ्दैन सरकार न्यूनतम ज्याला बजारको महँगाई

भोटका बजार सम्झेर आफ्लाई के गर्नु रोई कराई

 

बनेको छ व्यापार शिक्षा र स्वास्थ्य मनग्य आम्दानी

मरेका छन् जनता मारमा यहाँ बस्छ सरकार नसुनी

सकेन निष्टा बोकेर छातीमा हिँड्न भ्रष्ट यो बजारमा

बोकेन झोला झण्डा दलका कहिल्यै झुटो यो शहरमा

 

जीवनको टुङ्गो छैन् यिनको जागिर को के भर

हिँड्यो है साथी जिम्मेवार बन्न समुन्द्र पारी देशको के भर।