३०. म मौन छु केवल, अचेत होइन
म मौन छु
प्रश्नहरू नभएका होइनन्
जिज्ञासाहरु नउब्जेका होइनन्
आवाज छ
बन्दुकको गोलीझै प्रश्न सोध्न सक्छु
घाउको मलम्झै उत्तर दिन सक्छु
दृष्टि छ
डाँडा पारिको सुन्दर दृश्य देख्न सक्छु
अन्धकारमा भएकालाई उज्यालो तर्फ डोर्याउन सक्छु
सामर्थ्य छ
बदलिँदो समाज एकताको डोरीले हाक्न सक्छु
मानव मानव वीचको दूरी विचारले जोड्न सक्छु
तर पनि म मौन छु
यँहा सच्चिने भन्दा बढी बिक्ने धेरै छन्
नबुझ्ने भन्दा बढी नबुझे झैँ गर्ने धेरै छन्
यसैले म मौन छु
परिवर्तन खोज्ने भन्दा यथास्थितिमा रमाउने धेरै छन्
कारण अकारण दबिएका आवाज धेरै छन्
मेरो मौनता
मलाई थाहा छ विशाल शक्ति सञ्चय गर्दै छ
मौनताको विशाल ज्वारभाटा विष्फोटको पर्खाइमा छ
न रोक्नु त्यतिबेला
आगोका मूलहरू फुट्ने छन् हर घर बस्तीबाट
अवस्था व्यवस्था सब परिवर्तन हुन्छन् हाम्राे एकताबाट
म मौन छु केवल, अचेत होइन।
२०८२